जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको प्रधानमन्त्री आफ्नो निर्वाचन क्षेत्रको मात्रै प्रधानमन्त्री बन्ने गरेको बताएका छन् ।
शनिबार संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक गर्दै उनले
प्रधानमन्त्री र मन्त्रीहरू पूरा देशको नभइ आफ्नो निर्वाचन क्षेत्रको मात्रै हुने गरेको आरोप लगाए ।
‘हामीले यस्तो निर्वाचन प्रणाली अपनायौँ, प्रधानमन्त्री कहाँको हुन्छ ? अरु देशमा प्रधानमन्त्री देशको हुन्छ । हाम्रोमा प्रधानमन्त्री निर्वाचन क्षेत्रको मात्रै हुन्छ । आफ्नो निर्वाचन क्षेत्रको प्रधानमन्त्री हुन्छ,’ यादवले भने, ‘सबै श्रोत, साधन त्यहीँ पुर्याउँछ । त्यसपछि मन्त्री निर्वाचन क्षेत्रको हुन्छ । कतिपय सांसद त घरको न घाटको हुन्छन् । पूरै देशको प्रधानमन्त्री बनाउने र पूरै देशको विकास गर्ने कार्यमा लाग्नुपर्छ । त्यसो गर्न अहिलेको निर्वाचन प्रणाली बदल्नैपर्छ ।’‘राजनीतिक स्थिरता नभइकन विकास हुँदैन । धेरै कुरा भताभुङ्ग भएर जान्छ । त्यो पनि अर्धसत्य त हो । थाइल्याण्डमा राजनीतिक स्थिरता कम छ, विकास तिब्र गतिले अघि गइरहेको छ,’ यादवले भने ।


संवाददाता 






