काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भूकम्प प्रभावित बझाङ जिल्ला जाँदैछन् । बिहान साढे १० बजेपछि नेपाली सेनाको हेलिकप्टरबाट बझाङ प्रस्थान गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
उनले भूकम्पले बढी क्षति पुर्याएका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने लगायत कार्यक्रम निर्धारण गरिएको छ ।
बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति पुर्याएको छ । भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ ।
भूकम्पले घरलगायतका भौतिक संरचनामा क्षति पुगेको छ । घर पूरै भत्किएकाहरु अहिले पनि सार्वजनिक स्थान र सामुदायिक घरहरुमा बसिरहेका छन् । भूकम्प प्रभावितहरुका लागि राहत संकलन जारी छ ।
बिहीबार बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदको बैठकमा प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित नागरिकलाई राहत र पुनर्स्थापनाका साथै क्षति भएका संरचनाको पुनर्निर्माणको प्रक्रिया छिट्टै कार्यान्वयन गर्न निर्देशन दिएका थिए।















