श्रम रोजगार पत्रकार समूह र प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारीले पुरस्कार प्रदान गरे ।
उपत्यका, मोफसल र प्रवासमा रहेका क्रियाशील पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार प्रदान गरिएको समूहका अध्यक्ष सुनील न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा श्रममन्त्री भण्डारीले आप्रवासन विश्वव्यापी परिघटना भएको उल्लेख गर्दै नेपाल सरकार राष्ट्रिय आप्रवासन नीति मस्यौदा गर्ने प्रक्रियामा रहेको बताए । ‘आन्तरिक होस् वा बाह्य आप्रवासनलाई व्यवस्थापन गर्नुपर्छ, वैदेशिक रोजगारी रोकेर रोकिँदैन, यसलाई व्यवस्थित गर्नुपर्छ,’ उनले भने, ‘वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरकार लागिपरेको छ ।’
त्यसैगरि राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी खतिवडाले वैदेशिक रोजगारीका अवसरलाई लैंगिक रुपमा विभेद गर्न नहुने उल्लेख गर्दै वैदेशिक रोजगारीका क्रममा भएका ठगीका घटनामा संलग्नलाई कडा कारबाही गरिनुपर्ने बताइन् ।
कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन सबैको भूमिका महत्त्वपूर्ण रहेको बताए ।















