काठमाडौँ – कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन्।
आज रक्षा मन्त्रालयमा भएको छलफलमा मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, रक्षा सचिव , सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका प्रमुख, नेपाल प्रहरीका कार्यबाहक प्रमुख सहभागी थिए।
छलफलमा कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले सुरक्षा निकाय प्रमुखसँग देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिए। खड्काले शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा समाजिक सद्भाव खल्बलिन नदिने गरी सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएका छन्।
साथै बजारमा दैनिक उपभोग्य समान सहज उपलब्ध हुने व्यवस्था मिलाउन, कालाबजारी र कृत्रिम अभाव तथा मूल्य वृद्धि हुनै नदिन थप प्रभावकारी व्यवस्थापन गरी नियमित अनुगमन गर्न निर्देशन दिए।
नेपालीहरुका महत्वपूर्ण चाडपर्व नजिकिँदै गरेका कारण आपूर्ति व्यवस्थाको नियमितता र अनुगमनलाई समेत थप प्रभावकारी बनाउँदै कहीँकतै आम नागरिक ठगिएको, कृत्रिम अभाव सिर्जना गरिएको पाइए तुरुन्त कारबाही गर्न निर्देशन दिए।
सो अवसरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न बहानामा द्वन्द्व बढाउने तथा समाजिक सद्भाव बिगार्ने प्रयास भइरहेकोले त्यसतर्फ सजक र सतर्क हुन सबै सुरक्षा निकायलाई निर्देशन दिए।
कार्यवाहक प्रधानमन्त्री खड्का र उपप्रधानमन्त्री श्रेष्ठले सुरक्षा निकायका प्रमुखसँगको छलफलका क्रममा राजनीतिक र अपराधिक घटनाहरु समयमै पहिचान गर्न तथा राजनीतिक गतिविधिको आवरणमा अपराधिक गतिविधि हुन सक्ने कुरामा ध्यान दिन निर्देशन दिए।
छलफलमा मुख्य सचिव, गृह सचिव र रक्षा सचिवले समसामयिक विषयमा जानकारी गराएका थिए।
यस्तै, आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज भेट गरेका छन्। राष्ट्रपति कार्यालय शितल निवासमा पुगेर कार्यवाहक प्रधानमन्त्री खड्काले देशको समसामयिक विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।












