काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामती कर्मचारी विधेयकलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले पारित गरेर संसद्मा पठाउने बताएका छन् ।
सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले संघीय निजामती कर्मचारी विधेयकलाई भोलि (मंगलबार)को मन्त्रिपरिषद्को बैठकले पारित गरेर संसद्मा पठाउने तयारी रहेको बताएका हुन् । उनले मन्त्रिपरिषद्मा शिक्षासम्बन्धी विधेयक प्रस्तुत हुँदा मुख्य विधेयकभन्दा फरक ढंगले गएको भन्दै त्यसलाई परिमार्जन गरेर लैजानका लागि रोकिएको बताए ।
नेपालको संविधान जारी भएपछि हालसम्म नयाँ र संशोधनसमेत गरेर १९१ वटा ऐन निर्माण भएको र अहिले १५ वटा विधेयक संसदीय प्रक्रियामा रहेको पनि उनले बताएका थिए ।
‘नेपालको संविधान जारी भएपछि हालसम्म नयाँ र संशोधनसमेत गरेर १९१ वटा ऐन निर्माण भएको अवस्था छ । साथै विभिन्न मितिमा जारी भएका केही नेपाल ऐनलाई संशोधन गर्ने ऐनबाट प्रचलित कानुनहरुलाई नेपालको संविधान अनुकुल बनाउने कामसमेत सम्पन्न गरिएको छ । नेपाल सरकारले संघीय संसद्मा पेस गरेका विभिन्न १५ वटा विधेयक संसदीय प्रक्रियामा रहेका छन्,ु प्रधानमन्त्री दाहालले भने ।












