images

प्रधानमन्त्री प्रचण्डसँग काठमाडौंका मेयर बालेनको भेट, सुकुम्बासी समस्या समाधानबारे छलफल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले भेट गरेका छन्। आफूले अगाडि बढाएका केही काममा संघ सरकारको सहयोग नपाएको भनेर प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै आएका बालेनले आज सिंहदरबार पुगेर भेटेका हुन्।

प्रधानमन्त्री दाहाल र बालेनबीच काठमाडौंको तीनकुनेमा अधिग्रहण गरिएको जग्गामा देखिएको मुआब्जा समस्या र सुकुम्बासी बस्ती व्यवस्थापनबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। तीनकुनेको जग्गा अधिग्रहणपछि सरकारको नाममा आइसकेको छ। बालेनले तीनकुने-जडीबुटी अन्डरपासबारे पनि चासो राखेका थिए।

images

बालेनले यसअघि थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन खोज्दा गृह मन्त्रालयबाट सहयोग नपाएको गुनासो गरेका थिए।

छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सहरी विकासमन्त्री सीता गुरूङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साह, मुख्यसचिव डा. बैकुण्ठ अर्याल र विभागीय मन्त्रालयका सचिव पनि उपस्थित थिए।

प्रधानमन्त्री दाहालले सार्वजनिक महत्वका विषयमा केन्द्रित भइ समस्या समाधानका निम्ति ठोस पहल गर्न सचिवहरुलाई निर्देशन दिए। ‘सार्वजनिक महत्वका विषयको दीर्घकालीन अर्थ हुन्छ, त्यस्ता विषयमा हामीले सबैभन्दा बढी ध्यान दिनुपर्छ। एउटा मन्त्रालय र निकायसँग जोडिएको विषय अन्त सार्ने र समस्याबाट उम्किने काम हामी कसैले पनि गर्नु हुँदैन। त्यसतर्फ तपाइँहरूले ध्यान दिनुस्,’ प्रचण्डको भनाई उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने।

समाचार भ्युज
images
SKIP THIS