चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडी तथा व्यवस्थापकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदाइ गरेका छन्।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले खेलाडी तथा व्यवस्थापकलाई विदाइ गरेका हुन्।
प्रधानमन्त्री दाहालले विदाइ गर्दै भने, ‘सफलताको निम्ति हृदयदेखि शुभकामना दिन चाहान्छु। मेरो जानकारी अनुसार चीनमा राम्रो व्यवस्थापन भइसकेको छ। चिन्ता लिनु पर्ने छैन। तपाइँहरुले देशको गौरव र उचाइ बढाउनु हुनेछ भन्ने विश्वास छ। म आफू समेत उद्घाटनमा हुनेछु। मेरो लागि पनि एसियाली खेलकुद रोमाञ्चक हुनेछ। हाङझाउमा म तपाइँहरुकै साथमा हुनेछु।’
उनले अहिले नियमावली बनेर अर्थ मन्त्रालयबाट खेलकुद मन्त्रालयमा पुगेको र शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकबाट पैसा निकासा हुने जानकारी दिए। उनले सरकारले र प्रधानमन्त्रीले घोषणा गरिसकेको पुरस्कार पाइँदैन कि भन्ने चिन्ता नलिन खेलाडीहरुसँग आग्रह गरे।
उनले देशमा खेल क्षेत्रका भनेजस्ता पूर्वाधार नरहेको उल्लेख गर्दै आधुनिक सुविधा सम्पन्न रंगशाला बनाउने कुरा, कभर्ड हल बनाउने कुरा वा विभिन्न विधाका खेलहरुको निम्ति आवश्यक पर्ने पूर्वाधार निर्माणमा चीन भ्रमणमा खेल क्षेत्रकै प्रगतिका लागि उल्लेख्य पहल गर्ने प्रतिबद्धता जनाए।
उनले एशियाली खेलकुद हेर्न आफू उद्घाटन सत्रमा भाग लिने भन्दै सो क्षण आफ्ना लागि गौरवको विषय हुने बताए। उनले खेल क्षेत्रको विकास राष्ट्र विकासको रणनैतिक र महत्वपूर्ण आधार बनेको बताए।
नेपाल सरकार खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरुको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरु निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको बताए।
एसियाली खेलकुद असोज ६ मा सुरु भएर असोज २१ मा सकिनेछ। प्रधानमन्त्री दाहाल अमेरिका भ्रमणपछि एसियाली खेलकुदको उद्घाटनअघि चीन पुग्नेछन्।
यसपटकको एसियाली खेलकुदमा नेपालका २९ खेलमा २ सय ५३ खेलाडीका सहभागिता रहनेछ। जसमा १२७ महिला र १२६ पुरुष खेलाडीले भाग लिँदैछन्।
नेपालका तर्फबाट बास्केटबलमा ४, आर्चरीमा ४, एथलेटिक्समा ८, ब्याडमिन्टनमा ८, बक्सिङमा १३, ब्रेकिनमा १, क्यानोईमा १, क्रिकेटमा १५, साइक्लिङमा २ र ई–स्पोर्टसमा २३ खेलाडीको सहभागिता रहनेछ ।
यस्तै फेन्सिङमा ६, फुटबलमा २२, गल्फमा ६, ह्यान्डबलमा १६, जुडोमा ८, कबड्डीमा १२, करातेमा ८, रग्बीमा १२, सुटिङमा २, स्क्वासमा ६, पौडीमा ४, टेबल टेनिसमा ६, तेक्वान्दोमा ११, टेनिसमा ६, ट्रायथलनमा ४, भलिबलमा २४, भारत्तोलनमा ५, कुस्तीमा ४ तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ।
बिहीबारको विदाइमा १९ खेलका खेलाडी मात्र सहभागी थिए। बाँकी खेलका खेलाडी उपत्यका बाहिर तथा देश बाहिर बन्द प्रशिक्षणका लागि छन्।















